विचार

भिटौलो : पुछडि लुलुन्छ, हियाले झुरन्छ, कलेजो कटुन्छ...

simarekha

छोरीचेली भेट्ने परम्परालाई बैतडी र दार्चुलामा भिटौलो भनिन्छ । बाजुरा, बझाङ, डोटी, अछाम, हुम्ला, जुम्ला, कालिकोट आदि जिल्लामा चेल्तिहार (चेली तिहार) को नामले प्रख्यात छ । 
यसलाई मनाउने महिना पनि फरक फरक छन् ।

दार्चुला र बैतडीमा चैत्र महिनाभर मनाइन्छ भने बाजुरा, बझाङ, डोटी, अछाम, हुम्ला, जुम्ला, कालिकोट आदि जिल्लामा माघ महिनामा मनाइन्छ । यस आलेखमा विशेषगरी बैतडी र दार्चुला जिल्लामा मनाइने ‘भिटौलो’ को बारेमा जानकारी दिन खोजिएको छ ।

प्राकृतिक रुपले वसन्त ऋतु (चैत्र–वैशाख) का दुई महिना हरियालीले सजिने महिना हुन् । होरीको रंगिलो पर्वपछि घरआँगनमा माइतीले टेक्लान भन्ने आशा र उमंगमा छोरीचेलीहरु प्रतिक्षामा बसेका हुन्छन् । वसन्त भन्नाले बहार (यौवनावस्था) हो ।

वसन्तमा न गर्मी न चिसो हुन्छ । प्रकृतिले नौलो काँचुली फेर्दछ । वसन्त ऋतु सबैभन्दा मनमोहक ऋतु हो । वसन्त ऋतुमा बोटबिरुवाका पुराना पात झर्दछन् र नयाँ पात पलाउँछन् । यसलाई ऋतुराज पनि भनिन्छ । प्रकृतिमा हरियाली हुँदा वातावरण मनमोहक र सुगन्धित हुन्छ ।

कोइलीले कुहुँकुहुँ आवाजले आफ्ना वेदना पोख्छ । वनपाखाबाट निस्कने सुगन्धित हावाले जो कोहीलाई मन्त्रमुग्घ बनाउछ । घरआँगन बारीमा फक्रेका सुगन्धित फूलहरुले मानिसको मन चित्ताकर्षक गर्दछ ।

वातावरण नै सुरम्य र मनमोहक हुने ऋतुमा मनाइने भिटौला पर्वको महत्वलाई ऋतु रैण गाएर हुड्काको आवाजसँगै वस्ती वस्तीमा सञ्चार सम्प्रेषणमा परम्परागत रुपमा दमाई जातिले गर्दछन् । भडाहामा गाइने ऋतु रैणको छोटो उद्धरण निम्न प्रकार छ–

पुछडि लुलुन्छ, हियाले झुरन्छ, कलेजो कटुन्छ.......(यो पङ्ति न्याउली चराको सन्दर्भमा आएको छ । उसले पुच्छर हल्लाउछ, हृदय छियाछिया भएझैँ पीडामा रुन्छ र कलेजो भित्रभित्रै काटिएझैँ पीडावोध हुन्छ ।)

बिनु बैनालाको, भाइ निरह हुन्छ (बहिनीको, भाइ उदासीन हुन्छ)
बिनु भाइको, बैनी निरह हुन्छ (बिना भाइको, बहिनी उदासीन हुन्छिन)
बिनु राजाको, प्रजा निरह हुन्छ (बिना राजाको, प्रजा उदासीन हुन्छन)
बिनु प्रजाको, राजा निरह हुन्छ (बिना प्राजाको, राजा उदासीन हुन्छन)
बिनु देवताको, पूजारी निरह हुन्छ (अर्थात् बिना देवताको, पूजारी उदासीन हुन्छ)
बिनु पूजारीको, देवता निरह हुन्छ (अर्थात् पूजारीको, देवता उदासीन हुन्छन) .............................. ।

मायाकी मातारी, दौलतको बुवा, हुतिकि बैनी, बिपत्ति गामी, सुख्खकी स्वाइनी, सन्तोषका चेला................। (आमा भनेकी माया र ममताकी खानी हुन् । बुवाले आफ्ना सन्तानसँग धन दौलत आश राख्छ । हुनेखाने दाजुभाइ भए मात्र दिदीबहिनीले माइतीको दैलो टेक्छन् । परस्त्री गमनमा विपत्ती हुन्छ । श्रीमती साथमा भए दुःख पनि सुखमा परिणत हुन्छ । छोराहरु हुनु भनेको सन्तोष हो ।)  

ऋतु रैणमा सदेउको कथा आउछ । सातभाइ मध्ये कान्छो सदेउकी दिदीबहिनी नभएको भन्दै उसका साथीभाइले गाईगोरु अलग गर्न अवहेलना गरेको प्रसंग आउछ । सदेउको साथ छोडेपछि ऊ घरमा आएर दिदीबहिनी नभएको भन्दै छुराले आत्महत्या गर्छु भनेपछि उसकी आमाले गोरीधनाका बारेमा बताएको प्रसंग आउछ ।

रितु रानो गाउँदा जीवनका विभिन्न पक्षको वास्तविकता झल्कन्छ । गोरीधनालाई भेट्ने उत्कठ इच्छा राखेका सदेउलाई उसकी आमाले गोरीधना र भिनाजु नागराजका बारेमा बताएको लोककथा छ । भिटौलो परम्परा वर्षौदेखि चलिआएको छ । दमाईले गाउने लोक कथा ‘रितु रानो’ विस्तारै हराउँदै गएको छ ।

जीवनयापनसँग जोडिएका कयौं लोकपरम्परा परिवर्तित नौलो परिवेशमा व्याख्या विश्लेषण गरिन थालिएको छ । जाति विशेषका शिल्पहरु लोपोन्मुख भएसँगै लोकसाहित्यको खजाना लोपोन्मुख छ । लोकसाहित्यलाई कागजी रुपमा लेख्न नसकिएका कारणले ऐतिहासिक तथ्य संकटापन्न छ ।

प्राकृतिक रुपले वसन्त ऋतु (चैत्र–वैशाख) का दुई महिना हरियालीले सजिने महिना हुन् । होरीको रंगिलो पर्वपछि घरआँगनमा माइतीले टेक्लान भन्ने आशा र उमंगमा छोरीचेलीहरु प्रतिक्षामा बसेका हुन्छन् ।

लोकसाहित्य सदियौंदेखि कण्ठस्थ गरिदै पुस्तान्तरण हुँदै आएको छ । कयौं लोक भाकामय संस्कृतिलाई सामाजिकी परिवेशमा नमनाइने हुँदा त्यसको लोकभाका लोपोन्मुख हुँदैछ । चैत महिनामा गहुँबाली काटेर अनाजपानी सहित भेँट\दक्षिणा लिएर जाने प्रचलनमा आजभोलि परिवर्तन भइरहेको छ । 

वसन्त ऋतुको पावन स्पर्शले पल्लवित प्रकृति पुलक उठ्दा समेत शहरमा मान्छेहरु बेखबर देखिन्छन् । भिटौला पर्व बैतडी, दार्चुला र कुमाउनी लोक संस्कृतिको अभिन्न अंग मानिन्छ ।भिटौलोमा दिइने सरसामग्री र भेटघाट आधुनिक जीवनशैलीसँगै परिवर्तन भएको छ । चैत्र महिनामा घर लिपपोत (तर्छने) र भिटौला अनिवार्य जाने प्रचलन अहिलेसम्म चलिआएको छ ।

यसका पछाडि अनेकन दन्तकथा र लोकगीत जोडिएका छन् । भिटौलाको सान्दर्भिकता माथिको चैतले पनि दिशानिर्देश गरेको छ । मानसखण्डमा महिना पिच्छेका अनेकन लोकपरम्परा र लोकगीत छन् । भिटौलाको प्रतिक्षामा ‘भाइ भोकै सुतेको’  दन्तकथा पनि प्रख्यात छ ।

दन्तकथाका अनुसार एउटा बहिनी आफ्नो भाइ भिटौला लिएर आउने आशाले राती अबेरसम्म कुरेर बस्छे र भाइको प्रतिक्षामा उनी भोकै सुतेछिन् । उनी सुतेको केही समय पछि भाइ भिटौला लिएर आएछ । दिदी गहिरो निद्रामा सुतेकी देखेपछि उसले दिदी दिनभरको कामले थाकेर सुतेकी होलिन् भनेर ब्युझाएन् । भोलिपल्ट शनिबार भएकोले उसलाई दिदीको घर छाडनु पर्ने बाध्यताका कारण मध्यरातमा सुतेकी दिदीलाई भिटौलो छोडेर ऊ घर फर्केछ ।

बैतडी–दार्चुलातिर अहिले पनि ‘छन्चरकी छाड, मंगल की भेट’  गर्नु हुन्न भन्ने लोक मान्यता छ । विहान उठ्ने बित्तिकै भाइले ल्याएको भिटौलो देखेपछि भाइ आएको थाहा पाइन् । टाढाबाट आएको ‘भाइ भोकै सुत्यो’ भन्दै विलौना गर्दागर्दै उनले प्राण त्यागेको प्रसङग छ । 

मानसखण्ड अन्तर्गत अछाम, बझाङ, कालिकोट लगायतका कर्णालीका अन्य जिल्लामा पनि चेली तिहार माघमा मनाइन्छ । कालिकोटमा १५ दिनसम्म छोरीचेलीहरुलाई कोसेली दिने गरिन्छ । कोसेलीमा विभिन्न खाद्यान्नका परिकार उपहारमा दिइन्छन् ।

बझाङमा चेलीतिहारमा दिइने मिठो र मसिनो खानेकुरालाई ‘अन्नी वा फाकोे’ भन्ने गरिन्छ । माघ महिना हिन्दूहरुको धार्मिक महिना भएकोले बाजुरा, बझाङ, डोटी, अछाम, हुम्ला, जुम्ला, कालिकोट  आदि जिल्लामा चेल्तिहार (चेली तिहार) सांस्कृतिक पर्वको रुपमा मनाइन्छ ।

बझाङ, अछाम र कालिकोटमा भेट्न जाँदा माइतीले हरियो (साल, मालु र केरा) पातमा सेल, पुरी बेरेर लैजाने गरिन्छ । खाद्यान्नसँगै दहीको ठेकी, घयू, सार्मथ्य अनुसारको लुगा, गरगहना, दक्षिणा (नगद पैशा) पनि माइती पक्षले लैजाने गरिन्छ ।  

भिटौलाको शाब्दिक अर्थ भेटघाट गर्नु हो । प्रत्येक विवाहित छोरीहरुलाई माइती पक्षले (दाजुभाइ, आमाबुवा लगायत) भेट्ने गर्दछन् । भेटको अवसरमा छोरीचेलीका लागि मिठो मसिनो व्यञ्जन जस्तैः सेल, पुरी, खजुरा, खीर, दूध, घी, मिष्ठान्न, तेल, फलफूल, वस्त्रादी लिएर जान्छन् । चैत्रपछि नयाँ वर्ष आउने हुँदा चैतालो शुभकामना पर्वको रुपमा पनि मनाइन्छ ।

ठूलाले सानालाई आशिर्वाद दिन्छन् । छोरीचेलीलाई भेट्ने निहुँमा छोरीको ससुराल पक्षसँग भेटघाट गरी सम्बन्धलाई सौहार्दपूर्ण बनाइन्छ । छोरीलाई हौसला प्रदान हुन्छ र दुःख पीडामा मल्हम लगाइन्छ । भिटौला पर्वले विवाहिता छोरी, दिदी, बैहिनी, फुपु, फुपुआमा आदिलाई भेट्ने प्रचलन अहिलेसम्म अनिवार्य छ ।

चेलीछोरीलाई देवीको रुपमा पूजिने हुँदा भेटी स्वरुप उनीहरुको चरणमा भेँट समर्पित गरिन्छ । चैतको पावन महिनाको भिटौलाको प्रतिक्षामा छोरीचेली व्यग्रताले पर्खेका हुन्छन् । भिटौलामा प्राप्त खानेकुरा र फल आदिलाई सौगातको रुपमा छरछिमेकलाई बाँड्ने गरिन्छ ।

यसरी भिटौला संस्कृति प्यार र प्रेम पर्वको रुपमा मनाइन्छ । चैत्र महिनामा गाइने झोडा चाचरी लोकगीत आजभोलि प्रचलनमा देखिदैन् । भिटौलोको अर्थ भेटघाट गर्न ल्याइएको सामग्रीलाई बुझिन्छ । चैत्र महिनामा कृषिकर्म कम हुने भएकोले कामको चटारो हुँदैन् ।

वसन्त ऋतु परिवर्तनको संकेत पनि हो । गर्मी र चिसो कम हुने भएकोले यात्राका लागि सहज हुन्छ । आधुनिकतासँगै भिटौलो संस्कृतिको स्वरूपमा परिवर्तन हुँदै गएको छ । यातायात र सञ्चारका कारणले पनि भिटौलो पर्वले कोल्टे फेरेको छ ।

छोरी, दिदी, बैनी, फुपू आदिलाई भेटघाटको अर्थमा भिटौलाको सान्दर्भिक नभए माइतीले भेट्नु पर्ने बाध्यता यथावत छ । सामाजिक सञ्जालका कारणले भौतिक दूरीलाई छोटो बनाएको भए पनि भिटौला संस्कार झनझन परिष्कृत हुँदै आएको छ । सञ्चार र यातायातको विकासले कायापलट भएका कारणले पूर्वजहरुले हप्तादिनसम्म हिँडेर भिटौला जानु पर्ने अवस्थाको अन्त्य भएको छ । सडक सञ्जालले ग्रामीण भेकहरु सुगम भएका छन् ।

आधुनिक यूगमा यातायात र संचारको साम्राज्य फैलिएको छ । मानिस डिजिटलमय भएसँगै भौतिक रुपमा भेटघाट गर्न नसकिए पनि अहिले डिजिटल मार्फत् पैशा पठाउने (मनी ट्रान्सफर) गरी भेट्ने प्रचलन पनि बढ्दै गएको छ । 

संस्कृतिलाई समाजको ऐना मानिन्छ । हामी जुन समाजमा बसेका छौ सोही अनुसारको विशेषता, गुण, संस्कार, रीतिरिवाज अवलम्बन गरी आएका छौ । माथि भनिएझैँ छेरीलाई भेटघाट गर्ने उद्देश्य र गन्तव्य एउटै भए पनि मनाइने महिना फरक फरक छन् ।

नेपाली संस्कृतिको विविधतायुक्त पहिचानले प्रकृतिको अनुपम आनन्द लिन सकिन्छ । हाम्रा परम्परा, संस्कार र रीतिरिवाजले समाजलाई अनुशासनमा बाँधेको छ । मानिसलाई जीव र जगतको कल्याण गराउन सत्मार्गमा हिँडाउने प्रयास गरेको छ ।

आधुनिक जीवनशैलिका कारण पूर्खाको साँस्कृतिक अमूल्य निधिलाई समयसापेक्ष अनुशरण र अनुकरण गरी नेपाली समाजलाई सभ्य, वैज्ञानिक र विकसित बनाउदै मानव कल्याणको प्रबद्र्धन गर्नुपर्ने दायित्व सम्बन्धित समाजको काँधमा छ ।

भिटौला पर्वले दुईटा परिवारको मिलन बिन्दुलाई स्थानीय संस्कृति र सम्पदामा जोडेर समृद्ध त बनाएको छ नै यसले गरिबीमा बाँच्न बाध्य छोरीचेलीलाई माइतीपक्षले जस्तोसुकै अवस्थामा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नु पर्ने सन्देश दिइरहेको छ ।

स्थानीय सिप, कला, संस्कृति र सम्पदालाई पनि आर्थिक विकासको माध्यमले मानव जातिसँग जोडेको छ । भिटौलामा दिइने सौगात वा सरसामग्रीले पारिवारिक ज्ञान, सीप र क्षमतालाई अर्को परिवारसम्म परिचित गर्दछ ।

मानवले निर्माण गरेका भौतिक र अभौतिक एवं ब्यक्त र अब्यक्त दुबै किसिमका सिर्जनालाई संस्कृतिको रुपमा प्रस्तुत गरेको छ । भिटौलामा मैत्री भावना स्पष्टसँग देखिन्छ । पारस्परिक सदभाव, सहयोग र सुसम्बन्ध अटुट रुपमा चलिआएको छ ।

यस पर्वले मानवीय सभ्यता, संस्कार, संस्कृति र चालचलनलाई मानवीय व्यवहारलाई झल्काउछ । पितापुर्खादेखि चलिआएको प्रचलन परम्परा बनेको छ । छोरीचेलीमा आउने एक्लोपन, उदासीनता, उद्देश्यहीनतालाई हटाएर भेघाट मार्फत् नयाँ ऊर्जा र हौसला थप्ने महान काम भिटौलाले गरेको छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार