About Us

युवा पुस्ताको मिहिनेत र पाकाको अनुभवद्धारा सिंचित नेपाली पत्रकारिताको क्षितिज झन झन फराक बन्दै गएको छ । प्रबिधिको प्रयोगले त पछिल्ला दिनमा  यसको रुप, साजसज्जा र आयाममा पलपल परिवर्तन आइरहेको छ । प्रिन्ट संस्करणको आफ्नै स्वाद र मजा दुबै होला । यसका छुट्टै पाठक होलान् । छन् ।

तर, सूचना प्रबिधिको तिब्रतम विकास भइरहेको वर्तमान समयमा अनलाइन पत्रकारिता अनिवार्य जस्तै बनिसकेको छ । यो भर्चुअल दुनियाको सारथीलाई आत्मसात नगर्नुको बिकल्पै छैन । छापा, रेडियो, टेलिभिजन हुँदै प्रविधिको सहायताले आम मानिसको मोबाइल भित्र सुटुक्क छिरेको ‘न्यू मिडिया’ पनि त्यस्तै अर्को अवसर बन्न सक्छ, बनिरहेको छ । सबैका लागि ।

इन्टरनेट र प्रविधिमा पहुँच विस्तारसँगै अब पत्रकार र सञ्चार माध्यम स्थानीय रहेनन्, सबै पत्रकार र सञ्चार माध्यम विश्वस्तरिय भएका छन् । मोफसलमा काम गर्ने पत्रकारले आफुलाई स्थानीय ठान्ने दिन गए । स्थानीय समाचार विश्वस्तरिय समाचार बन्न सक्छन् । त्यसैले मोफसका पत्रकारलाई पत्रकारिता अतिरित्त प्रविधिजन्य ज्ञान र सीप सिकाउन आवश्यक छ । आफुलाई परिस्कृत र परिमार्जित गर्दै लैजाने पत्रकारका लागि अवसरका ढाका खुल्दै जानेछन् । 

अनलाइन पत्रकारिताको आयाम जति बिस्तारित भइरहेको छ । त्यत्तिक्कै यसका बिकृती पनि सतहमा आइरहेका छन् । नियमन गर्ने निकाय र सरोकारवाला पक्षले त्यसको सुक्ष्म अध्ययन गर्नु जरुरी छ । बहिकिने, बिक्ने छुट कसैलाई छैन । त्यस्तालाई कानूनी दायरामा ल्याउनुपर्छ । पत्रकारिता प्रतिको निष्ठा, आस्था र इमानमा कहि कतै नचुकेर विश्वसनिय पत्रकारिता गर्नु अहिलेको आबश्यकता हो । सीमारेखा मिडिया त्यसमा प्रतिबद्ध छ । धन्यबाद ।