समाचार

बैतडीमा दिपावलीको यस्तो दियो ! गाउँलेले पकाए सेलरोटी ?

स्थानीयको प्रयासमा गाउँ झिलिमिली, पालिकाको विद्युतिकरण अलपत्र
simarekha

बैतडी । तिहारको सुरुवातसँगै बैतडीको सिगास गाउँपालिका–१ का ८० घर परिवारमा बिजुली बलेको छ । सिगास–१ को अङडेगडा, बेसरा र गोलेधार गाउँमा विजुली बलेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका छन् । 

गाउँमा विद्युत लाईन बिस्तार गरिएपछि बैतडीका प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थी, विद्युत वितरण केन्द्रका प्रमुख जनार्दन पौडेल लगायतले गाउँमा पुगेर बिजुलीको स्वीच थिचेर औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

पाटन नगरपालिका– १० सल्लेबासाबाट करिब चार किलोमिटर लाईन विस्तार गर्दै गाउँमा विद्युतिकरण गरिएको स्थानीय शिक्षक धन बहादुर ऐरीले बताए । उनले बिद्युत बिस्तारका क्रममा प्राधिकरणले तार र पोल उपलब्ध गराएको र स्थानीयले तीन लाख बराबरको श्रमदान गरेको बताए । 

तिहारको मुखमा गाउँ झिलीमिली बनेपछि ८७ बर्षका स्थानीय प्रेम सिंह ऐरीले आफू दंग परेको बताए । ‘यसपालीको तिहार उज्यालो हुने भयो,’ उनले भने, ‘टुकी र झरो (सल्लाको काठ) बालेर काम चलाउने दिन अब गए ।’

गाउँमा बिजुली बलेपछि सेलरोटी पकाएर उत्सव बनाएको अर्का स्थानीय काशीराम कामीले बताए । नेपाल विद्युत प्राधिकरणको बैतडी वितरण केन्द्रबाट ट्रान्सफर्मर राखेर सिगास–१ का थप गाउँहरुमा बिजुली बाल्न सहयोग गर्ने केन्द्रका प्राविधिक माधव लेखकले बताए । 

गाउँपालिकाले विद्युत विस्तार गर्ने भन्दै बर्षौ देखि काम सुरु गरेपनि प्रभावकारी नभएपछि हाल ११ केभीको छुट्टै लाइन मार्फत बिजुली बालिएको हो । गाउँपालिकाले छ बर्ष अघिबाट काम सुरु गरेर विद्युतिकरणका नाममा १२ करोड खर्च गरिसकेको छ ।

तर उपभोक्ता समिति मार्फत काम गराउदा गुणस्तरहीन काम भएपछि विद्युत प्राधिकरणले उक्त लाईनमा चार्ज गर्न नसकिने बताएको छ । बिद्युत लाईन बिस्तारमा अनियमितता भएको भन्दै हाल अख्तियारले छानबिन गरिरहेको गाउँपालिका उपाध्यक्ष धना धामीले बताईन । 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार