राजनीति

झुलाघाटबाट एमालेको मध्यपहाडी संकल्प यात्रा, अध्यक्ष ओलीको कमाण्डमा यस्तो छ कार्य विभाजन !

simarekha

बैतडी । नेकपा (एमाले) ले बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गमा संकल्प यात्रा गर्ने भएको छ । पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाट आएर यात्राको सुरुवात गर्ने कार्यक्रम तय भएको छ ।

एक हजार ७ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गमा १४ गतेबाट संकल्प यात्रा सुरु हुने एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बताए । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ उक्त यात्रा सुरु हुने उनको भनाई छ ।

भारतीय सीमा नाका तथा मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु झुलाघाटबाट  पाँचथरको चिवा भन्ज्याङसम्मको यात्राका लागि स्थानीय स्तरमा तयारी सुरु भएको छ । 

पार्टीको जिल्ला कमिटी बैतडीले बिभिन्न १० वटा उप समितिहरु गठन गरेको छ । एमाले केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज निरु पालको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, केन्द्रीय सदस्य लिलाधर भट्टको संयोजकत्वमा जन परिचालन समिति, पार्टीका सुदूरपश्चिम कमिटीका निवर्तमान अध्यक्ष दामोदर भण्डारीको संयोजकत्वमा आवास समिति र पार्टी प्रवेश समिति गठन गरिएको छ । 

त्यस्तै पार्टी पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलको संयोजकत्वमा खाद्यान्न समिति र अभिनन्दन, सम्मान तथा समसामयीक प्रस्ताव समिति गठन गरिएको छ । त्यस्तै पुष्करराज जोशीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, जानकी अवस्थी अतिथी सत्कार समिति, रामप्रसाद अवस्थी सांस्कृतिक व्यवस्थापन समिति र चक्र कार्कीलाई स्वयंसेवक परिचालन समितिको जिम्मा दिइएको छ ।

१० वटै समितिहरुले मंसिर १ गतेबाट तयारी सुरु गर्ने बताइएको छ । जस अनुसार झुलाघाट र बैतडी सदरमुकाममा जनसभाका लागि मञ्च निर्माण, अनारखोली, खोड्पे, पाटन, सतबाझ, गोठालापानी र झुलाघाटमा गेट निर्माण तथा कार्यक्रममा पाँच हजार झण्डा, १० हजार निमन्त्रणा कार्ड तथा तीन सय जना स्वंयसेवक परिचालन गरिने गर्ने बैतडी इन्चार्ज निरु पालले जानकारी दिइन् ।  

२० हजारको सहभागिता सहित मध्यपहाडी लोकमार्ग संकल्प यात्राको शुभारम्भ हुने बताइएको छ । जसका लागि जिल्लाभरीका कार्यकर्ताहरुलाई सदरमुकाम, पाटन, सतबाझ र देहिमाण्डौंका होटेलहरु तथा सदुरमुकाम नजिकका गाउँहरुमा ‘होम स्टे’ निर्माण गरेर बसालिने आवास समितिका संयोजक भण्डारीले जानकारी दिए ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार