समाचार

महाकाली करिडोर : एमाले संसदीय दल र योजना प्रमुखबीच छलफल, वनको लफडा सुल्झाउन पहल

simarekha

धनगढी । नेकपा (एमाले) संसदीय दलको कार्यालयले सुदूरपश्चिमका केहीँ ‘ड्रीम प्रोजेक्ट’ को कार्य प्रगति र ती योजनाहरुमा भइरहेको व्यवधानका बारेमा छलफल प्रारम्भ गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज महाकाली करिडोर र धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ सडक योजनामा भइरहेको कार्य प्रगति र तिनमा आएको ढिलासुस्तिका बारेमा योजना प्रमुखहरुसँग छलफल गरेका हुन । 

उनले धनगढीस्थित एमाले संसदीय दलको कार्यालयमा महाकाली करिडोर सडक योजनाका प्रमुख लक्ष्मण दत्त जोशी र धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भञ्ज्याङ सडक योजनाका निमित्त प्रमुख लक्ष्मण रावलसँग छलफल गरे ।

महाकाली करिडोरका प्रमुख जोशीले ब्रम्हदेव–जोगबुढा खण्डमा ट्रयाक ओपन भएर एकतर्फी रुपमा सवारी साधन सञ्चालन हुने अवस्था आएको जानकारी दिदैँ वन कार्यालय र विद्युत प्राधिकरणका कारण केहीँ स्थानमा काममा बिलम्ब भएको बताए । 

‘वन क्षेत्रमा कटान भएको काठलाई कुन ठाउँमा घाटगद्धी गर्ने भन्ने विषय पेचिलो बनेको छ,’ उनले भने, ‘सडक क्षेत्र अन्तर्गत पर्ने वडा नं. ९ मा घाटगद्धीको स्थान तोकिएको थियो । तर डिभिजन वन कार्यालय कञ्चनपुरले अहिले वडा नं. १० तिल्केनीमा घाटगद्धी गर्ने भनेको छ, तर त्यसको स्वीकृत नदिदा काठ व्यवस्थापनमा झण्झट भएको छ ।’

प्रमुख जोशीले त्यससँग सम्बन्धित फाईल पनि धेरै दिन देखि वन कार्यालयमै रोकिएको जानकारी दिए । यस्तै ब्रम्हदेव जिरोप्वाईन्ट वरपरको क्षेत्रमा विद्युत प्राधिकरणले तार नझिक्दा रुख कटानमा समस्या भएको जोशीले बताए । 

डडेल्धुरा खण्डमा रुख कटानीको आदेश आएपनि डिभिजन वन कार्यालय डडेल्धुराले रुख छपान र मुछानको काममा ढिलाई गर्दा सडक निर्माणमा बाधा पुगेको जोशीको भनाई छ ।

‘एकातर्फ बजेट अभाव छ, अर्कोतर्फ वन कार्यालयको ढिलाइले गर्दा सडक निर्माणले गति लिन सकेको छैन,’ उनले भने, ‘डिभिजन वन कार्यालय प्रदेश सरकार मातहत भएकाले यो विषयमा माननीय ज्यूहरुले पहल गरिदिनु प-यो ।’

संसदीय दलका नेता रावलले वनसँग सम्बन्धित समस्या टुंग्याउन आजै देखि पहल थालेका छन् । उनले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई भेटेर घाटगद्धी गर्ने स्थानको टुंगो तुरुन्तै लगाएर समस्या समाधान गर्न भनेका छन् । यस्तै विद्युत प्राधिकरण महेन्द्रनगरका प्रमुखलाई पनि एक÷दुई दिनमै भेटेर समस्या समाधान गरिने रावलको सचिवालयले जनाएको छ । 

यस्तै धनगढी–खुटिया–दीपालय–चैनपुर–उरै भञ्ज्याङ सडक योजनाका प्रमुख लक्ष्मण रावलले उक्त योजनामा भइरहेको कार्य प्रगति पनि प्रस्तुत गरे । धनगढी–खुटिया १३ किलोमिटर सडक मध्ये ८ किलोमिटर कालोपत्रे भएको र दीपायल–बाजमोड सम्मको साढे ९ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न भएको योजना प्रमुख रावलले जानकारी दिए । 

यस्तै स्याउले–हाटखोली साढे ६ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको जनाउदै रावलले बाजमोड–मेल्लेख साढे १५ किलोमिटर कालोपत्रेको लागि ठेक्का सम्झौता भइसकेको र आउदो आवमा काम सम्पन्न हुने बताए । ‘यति ठूलो योजनामा बजेट अभाव छ,’ उनले भने, ‘यसपाली २५ करोड रुपैया मात्र बजेट आएको छ, बजेट अनुसार कार्य प्रगतिमा छ ।’

निवर्तमान मुख्यमन्त्री रावलले बजेट अभाव, वन र विद्युतसँग सम्बन्धित समस्याहरु समाधानका लागि आफ्नो तर्फबाट सक्दो पहल गरिने र त्यसको सुरुवात गरिसकेको बताए ।

‘महाकाली करिडोरमा वर्षेनी बजेट घटेर आइरहेको छ,’ उनले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको कार्यकालमा सवा अर्ब भन्दा बढी बजेट छुट्टयाइएको प्रशंग उल्लेख गर्दै भने, ‘अहिले २९ करोड ६५ लाख रुपैया मात्र बजेट आएको छ ।’ 

रावलले वर्तमान गठबन्धन सरकारले ‘गेम चेञ्जर प्रोजेक्ट’ हरुमा बजेट दिन कन्जुस्याई गरेको र यसले उसको प्राथमिकता क्षेत्र झल्कने बताए । ‘गठबन्धनका नेता ज्यूहरु विकासका नाममा ‘स्टन्ट’ बढी गर्नुहुन्छ । तर यस्ता ‘ड्रीम प्रोजेक्ट’ हरुमा बजेट हाल्न ‘लबिइङ’ गर्नुहुन्न,’ उनले भने, ‘उहाँहरुको कलाविहीन नाटक जनताले देखिसकेका छन् ।’

नेता रावलले सुदूरपश्चिमका विकासे योजना–आयोजनाहरुमा भइरहेको कार्य प्रगति र उत्पन्न गतिरोध अन्तका लागि एमाले संसदीय दलले छलफल प्रारम्भ गरेको र समस्या समाधानका सुत्रहरु खोजिने बताए । छलफल कार्यक्रममा एमाले संसदीय दल उप नेता सन्तोष शर्मा थापा र प्रदेश सभा सदस्य धर्मराज पाठकलगायतको पनि उपस्थिति रहेको थियो । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार