समाचार

सुदूरपश्चिम प्रदेश सभा : जाजरकोट भुकम्प पीडितलाई एमालेका सांसदले नगद सहयोग गर्ने

simarekha
एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल।

धनगढी। सुदूरपश्चिम प्रदेश सभामा रहेका नेकपा (एमाले) का प्रदेश सभा सदस्य र उनीहरुका स्वकीय सचिवहरुले जाजरकोट भुकम्प पीडितहरुलाई राहत स्वरुप नगद रकम उपलब्ध गराउने भएका छन्।

प्रदेश सभाबाट पाउने सेवा, सुविधाबाट कट्टी हुने गरी प्रत्येक प्रदेश सभा सदस्यले १० हजारका दरले र स्वकीय सचिवहरुले ५ हजारका दरले १ लाख ३५ हजार रुपैयाँ राहत सहयोग गर्ने भएका हुन्।

नेकपा (एमाले) का संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलका अनुसार उक्त रकम जिल्ला प्रशासन कार्यालय जाजरकोटको भुकम्प प्रभावित राहत कोषमा जम्मा गरिने छ।

‘एक/दुई दिनमा भौतिक रुपमै उपस्थित भएर राहत सहयोग गर्ने कार्यक्रम राखेका छौं,’ रावलले भने, ‘भुकम्प गए लगत्तै बसेको संसदीय दलको बैठकले राहत उपलब्ध गराउने निर्णय गरेपनि पार्टीले आयोजना गरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग पदयात्राका कारण ढिला भएको होे।’

कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोटस्थित रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको बिनासकारी भुकम्पका कारण धेरैले अकालमा ज्यान गुमाएका थिए भने सयौं घरबारबिहीन भएका छन्।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार