समाज

हरिद्धार र प्रयाग यहीँ छ, अन्त किन जानु : निवर्तमान मुख्यमन्त्री रावल

simarekha

डडेल्धुरा । सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री तथा प्रमुख विपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्र सिंह रावलले हाम्रै वरिपरि धार्मिक र सांस्कृतिक महत्वका थुप्रै ऐतिहासिक स्थल भएपनि तिनको अझैँ महत्व बोध गर्न नसकिएको बताएका छन् ।   

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–५ मा अवस्थित परशुराम धामको सन्ध्याकालीन गंगा आरतीमा सहभागी भएपश्चात आयोजित शुभकामना कार्यक्रममा निवर्तमान मुख्यमन्त्री रावलले यस्तो बताएका हुन । 

“हाम्रो हालत कस्तुरी मृगको जस्तो भएको छ, नाभिमा बिना लुकाएर त्यसको खोजिमा भौतारिरहने,” उनले भने,“हरिद्धार, प्रयाग र गयाँ यहीँ छन्, तर हामी लाखौँ खर्चेर धर्म कमाउने भन्दै अन्त धाइरहेका छौं । आफ्नै वरिपरिका पवित्र भूमिको उपेक्षा भइरहेको छ ।”

निवर्तमान मुख्यमन्त्री रावलले मानसखण्डमा उल्लेखित परशुराम धाम पनि नजिकको तीर्थ हेला जस्तो भएकाले यसबारेमा सबैले समयमै सोच्नुपर्ने बताए । “धार्मिक र सांस्कृतिक बिरासतहरु भत्किदै गएका छन्, त्यसो भयो भने हाम्रो अस्तित्व नै सकिन्छ,” रावलले भने, “तिनको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी स्थानीय, प्रदेश र संघीय सरकारको हो, तर यसमा स्थानीयबासिन्दाको सहयोग पनि उत्तिक्कै अपरिहार्य छ ।” 

प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री पठान सिंह बोहरा, परशुराम नगरपालिकाका मेयर भरत बयायर जोशी, प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलगायतले पनि मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।  

परशुराम धाममा पुषको अन्तिम दिन हिजो भव्य मेला लागेको थियो । महाकाली नदी किनारमा आयोजित सन्ध्याकालीन आरती प्रमुख आर्कषणको केन्द्र रह्यो । देवघाटबाट आएका गुरु र बटुकहरु आरतीमा सहभागी भए । भगवान परशुरामको तपस्थली स्थलका रुपमा चिनिएको उक्त धाममा राति मेला भर्न आएका भक्तजनहरुले आज बिहान गंगा स्नान गरे । 

परशुराम नगरपालिकाले धाम आउने सडकको स्तरोन्नती गरेको थियो । डडेल्धुरा र आसपासका जिल्लाका भक्तजनहरु बुडर, दैजि–लिपना र महाकाली करिडोर भएर आएका थिए । नगरपालिकाले सबै पालिका प्रमुखहरुलाई मेलाको निम्तो दिएको थियो । स्थानीय प्रशासनका अनुसार मेलामा करिब १५ हजार बढी भक्तजन उपस्थित भएको प्रारम्भिक अनुमान गरिएको छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार