राजनीति

सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन भोलि

simarekha

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अर्थात् हिउँदे अधिवेशन भोलि (शुक्रबार) बाट सुरु हुने भएको छ ।

भोलि अपराह्न २ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

भोलिको प्रदेशसभा बैठकमा शुभकामना आदानप्रदान गर्ने कार्यसूची तय भएको पनि उनले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सभाले विगत एक वर्षको अवधिमा एउटा पनि नयाँ कानुन निर्माण गर्न सकेको थिएन ।

पहिलो प्रदेश सभाबाट पारित दुई कानुनको सामान्य संशोधनबाहेक नयाँ कुनै पनि कानुन यो एक वर्षको अवधिमा पारित नभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाका ५३ सदस्यले गत वर्ष पुस १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सभामुख, उपसभामुख चयन गर्ने, मुख्यमन्त्रीलाई विश्वासको मत दिने, बजेट पारित गर्ने र दुई ऐनको सामान्य संशोधनबाहेक अन्य विधेयकहरु पारित हुन सकेन ।

कानुन निर्माणका सन्दर्भमा पहिलो एक वर्ष निष्क्रिय भए पनि प्रदेश सभाका पदाधिकारी, सदस्य र उनीहरुको सचिवालय र स्वकीय सचिवको पारिश्रमिक तथा भत्तामा करिब साढे आठ करोड रुपैयाँ खर्च भएको छ ।

विगतमा कानुन निर्माण र जनताका सवाल उठान गर्ने विषयमा प्रदेश सभाको प्रभावकारिता नदेखिएको भन्दै तेस्रो अधिवेशनलाई प्रभावकारी बनाउन प्रदेशसभा सदस्यहरुले आग्रह गरेका छन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार