स्थानिय निर्वाचन २०७९

पश्चिमको टापु हल्लाउँदै पूर्वेली युवा : नदी नियन्त्रण र खुल्ला सीमा व्यवस्थापन मूख्य एजेण्डा

simarekha

महेन्द्रनगर । दोधाराचाँदनी नगरपालिकाका मेयरका उम्मेदवार हुन् किशोर लिम्बु । ५० वर्षीय लिम्बुलाई दोधाराचाँदनीबासीले युवा नेताको रुपमा चिन्छन् । पूर्व ताप्लेजुङको सिरीजंघा गाउँपालिकाबाट दोधारा आएर यतै हुर्के, बढेका लिम्बुले अंग्रेजीबाट एमए, शिक्षाबाट एमएड र व्यवस्थापनमा एमबिए गरेका छन् ।

राजनीतिसँगै शिक्षा क्षेत्रमा समेत जोडिएका लिम्बु यस क्षेत्रका लोकप्रिय युवामा दरिन्छन । २०४५ सालबाट राजनीतिमा लागेको उनले बताए । एमाले निकट विद्यार्थी संगठनमा आवद्ध भएर उनी २०४६ सालको ऐतिहासिक जन आन्दोलनमा सहभागी भएका थिए ।

त्यसपछि नेकपा एमालेको संगठन निर्माणमा सक्रिय हुँदै अहिले जिल्ला कमिटी सदस्य छन् । उनले दुई कार्यकाल नगर कमिटी अध्यक्ष भएर काम गरे । नेकपा एमाले र माओवादी एकीकरणपछि पनि उनले दोधाराचाँदनीको नेतृत्व पाए । नेकपा विभाजन पछिको एमालेको ८ औं जिल्ला अधिवेशनबाट उनलाई जिल्ला कमिटी सदस्य बनाइएको छ ।

दोधाराचाँदनी नगरपालिका दुई तिरबाट नदीले घेरिएको टापु जस्तो छ । पूर्वबाट महाकाली र पश्चिममा जोगबुढा नदीले घेरेको यो नगरपालिकामा   कटान र डुबानको समस्या बढी छ ।

यही नगरको नेतृत्व गर्न खोजिरहेका लिम्बुले महाकाली र जोगबुढा नदीमा तटबन्ध गर्ने कामलाई प्रमुख एजेण्डा बनाएका छन् । ‘महाकाली र जोगबुढामा गरिएको पुरानो तटबन्ध जिर्ण भैसकेको छ,’ उनले भने, ‘व्यवस्थित तटबन्ध नहुँदा वर्षेनी क्षति हुन्छ, हामी निर्वाचित भयौं भने तटबन्ध निर्माण गरी दोधाराचाँदनीलाई सुरक्षित बनाउँछौं ।’

खुल्ला सीमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरलाई नियन्त्रण गर्ने अर्को एजेण्डा छ उनको । ‘दोधाराचाँदनीको अधिकांस भाग भारतसँग जोडिएको छ, शुक्लासँगको क्षेत्रमा जंगली जनावरको आतंक छ, सीमा विवाद पनि छ,’ उनले भने, ‘सीमा नाकालाई व्यवस्थित गर्नका लागि केन्द्र सरकार र प्रदेश सरकारसँग पहल गर्ने छौं ।’ 

छाडा चौपाया व्यवस्थापन, प्रत्येक वडामा रहेका खेल मैदानको स्तरोन्नती, नगर स्तरीय खेल मैदान निर्माण, खेलाडी उत्पादन गर्ने उनको भनाई छ । 

यसैगरी नगर स्तरीय पुस्तकालय निर्माण, सूचना केन्द्र निर्माण गरी नगरवासीलाई सूचना प्रवाह गर्ने, आत्महत्याका घटना बढी रहेकाले रोकथामका लागि परामर्श केन्द्र निर्माण गर्ने लिम्बुको योजना छ ।

सुख्खा बन्दरगाह निर्माणका लागि केन्द्रीय सरकारसँग पहल गर्ने उनको भनाई छ । ‘सुख्खा बन्दरगाह निर्माणमा पहल गर्छौ,’ उनले भने, ‘त्यो चाडै निर्माण गरी युवालाई रोजगारी दिन्छौं ।’ 

युवालाई कृषिमा लगाएर आत्मनिर्भर बनाउने उनको सोच छ । ‘कृषिमा लगानी बढाउँछौं, विना व्याज ऋण दिन्छौं,’ उनले भने, ‘कृषिमा लाग्नेलाई अनुदान समेत दिन्छौं ।’ 

शिक्षा, स्वास्थ्य र खानेपानी सबैको पहुँचमा पुगाइने, पर्यटकीय नगर बनाइने उनको भनाई छ । ‘यहाँ पर्यटकीय स्थल छैन्, एउटा आधुनिक पर्यटकीय स्थल बनाउँछौं,’ उनले भने, ‘नेपाली तथा भारतीय नागरिकलाई आकर्षित गछौं ।’

०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर सुनारसँग झिनो मतले पराजित भएका लिम्बु पुनः मतदाताको बीचमा गएको यसपटक आफ्नो जित सुनिश्चित रहेको बताउँछन् ।  

प्राप्त प्रतिक्रिया
तपाईँको मत
सम्बन्धित समाचार